इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ दाङले महासंघको कार्ययोजना निर्माणका लागि जिल्लाका अग्रज पत्रकार एवं मिडिया सञ्चालकहरुसँग सुझाव संकलन गरेको छ ।
मंगलवार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्लाका पत्रकारिताको विकास, जनसरोकारका विषयको उठानलगायतका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । साथै जिल्लाको मिडियाहरुको सवलिकरणको सहजीकरण गर्नुका साथै महासंघको संस्थागत विकास, सदस्यता शुद्धिकरणलगायतका विषयमा पनि गम्भीर हुन अग्रज पत्रकार एवं मिडिया सञ्चालकहरुले सुझाएका थिए ।
पछिल्लो चरणमा केही पत्रकारहरुले पत्रकार आचारसंहिता पालना नगर्द पत्रकारिता क्षेत्र नै बदनाम हुँदै गएका र पत्रकारिता क्षेत्रमा समाज र जनताले औला उठाउने वातावरण श्रृजना गर्न नहुने बताएका थिए । त्यस्तै जिल्लाका स्थानीय तहका विज्ञापन वाहिर जाने भएकाले यहाँ मिडिया टिकाउन गाह्रो परेको मिडिया सञ्चालकहरुको गुनासो थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पछिल्लो समयमा देशको राजनीतिक विकृतिसँगै पत्रकारितामा पनि विकृति आएकोमा चिन्ता व्यक्त गर्दै यसलाई सुधार गर्न पहिले पत्रकारहरुले आफैबाट थालनी गर्नुपर्ने बताए । ‘नेपालको अहिलेको राजीनीतिक दुरदसासँगै पत्रकार, पत्रकारिताको दुरदसा पनि विग्रदै गएको छ‘, उनले भने, ‘यसको सुधार गर्न र पत्रकारितालाई मर्यादित बनाउन पत्रकारहरुले पहिले आफैलाई सुधार गर्नु जरुरी छ ।’
महासंघका अध्यक्ष दुर्गा लाल केसीको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्षहरु केवी मसाल, सुशील गौतम, प्रताव रेग्मी, निवर्तमान अध्यक्ष सविन प्रियासन, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, किशोर चन्द्र गौतम, लिला शाह, केपी घिमिरे, मधुसुदन बैद्य, अजयदिप शर्मा, महासंघका सल्लाहकार लक्ष्मी आचार्यलगायतले आ–आफ्ना सुझाव दिएका थिए ।
सो अवसरमा महासंघका अध्यक्ष केसीले अग्रज पत्रकार तथा मिडिया सञ्चालकहरुको सुझावलाई आत्मसाथ गर्दै नेपाल पत्रकार महासंघको क्षेत्राधिकारभित्र रहेर जिल्लाको पत्रकारिताको विकास, महासंघको संस्थागत विकास र मिडिया सवलिकरणमा काम गर्ने बताएका थिए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सन्तोष सुवेदीले विषय प्रवेश बनाएका थिए भने महिला उपाध्यक्ष वसुन्धरा गौतमले स्वागत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सहसचवि दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।











