दाङ, श्रावण २ ।
उत्सर्ग फिल्मस् नेपालले वरिष्ठ नृत्य प्रशिक्षक सुशीला थापालाई सम्मान गरेको छ । शनिबार घोराही आयोजित एक विशेष समारोहमा प्रमुख अतिथी दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकीले खादा ओढाई सम्मान गर्नु भएको थियो ।
२०५० सालदेखि औपचारिकरुपमा कलायात्रामा प्रवेश गर्नु भएकी वरिष्ठ नृत्य प्रशिक्षक थापा भि.एस. निकेतन काठमाण्डौंमा प्रमुख नृत्य प्रशिक्षकको रुपमा १४ वर्ष कार्य गर्नुभएको थियो । हाल उहाँ दाङको गुरुकुल एकेडमी, दीपशिखा उमावि र सिद्धार्थ एकेडमीमा नृत्य प्रशिक्षकको रुपमा कार्यरत हुनुुहुन्छ ।
लामो समयसम्मा रक्तिम साँस्कृतिक परिवारमा आवद्ध रहनुभएकी वरिष्ठ नृत्य प्रशिक्षक थापाले भारतको हैदरावादबाट नृत्यमा डिग्री लिनुभएको छ । वहुचर्चित गीतिनाटक ठूली र पूजामा केन्द्रीय भूमिकामा अभिनय गर्नुभएकी थापाले विद्यार्थी कालमा तत्कालीन राजा बीरेन्द्रबाट पदक प्राप्त गर्नु भएको थियो भने सर्वोत्कृष्ट नृत्य प्रशिक्षकको अवार्ड समेत जित्नु भएको छ ।
सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नृत्य प्रशिक्षक थापाले आफू निकै उत्साहित भएको बताउँदै कलाक्षेत्रको उन्नयन तथा साँस्कृतिक रुपान्तरण अभियानमा सधैं सक्रिय रहने बताउनु भयो । उत्सर्ग फिल्मस् नेपालका सल्लाहकार ज्वाला खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हिमा थापा र लोकराज साधकले गर्नु भएको थियो ।।