इन्द्रेणी संवाददाता
बुटवल, २८ साउन । पछिल्लो राजनीतिक घटना क्रमसँगै मुख्यमन्त्री शंकर पोख्रेलको सरकार ढलेपछि लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।
मुख्यमन्त्री पोखरेलले हिजो बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेका छन् । सो अनुसार सरकार गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले सरकार गठनको तयारी गरेका छन् । जसअनुसार कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ ।
लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो फागुुनसम्म माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछिको बाँकी अवधिका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्ने सहमति भएको छ । प्रदेश सरकारको अवधि अब १६ महिना बाँकी छ ।











