दाङ, २ साउन । रुकुमका अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै अवरुद्ध हुँदा रुकुमका विभिन्न स्थानको यातायात प्रभावित भएको छ । वर्षाले विभिन्न सडकमा पहिरो झर्ने तथा पानीले सडक ठाउँठाउँ फाटेपछि यातायात सञ्चालन हुन नसकेको हो ।

photo sadak2सदरमुकाम खलङ्गादेखि आठबिसकोट, चौरजहारी, पीपल, पोखरा, तकसेरा, महत, काँक्री जाने सडक पूर्णरूपमा बन्द भएका छन् भने रुकुमकोट, बाँफीकोटलगायतका ठाउँ पुग्ने सडक अनियमित बनेका छन् । अनियमित रूपमा गाडी चलेका सडकमा पनि जोखिमपूर्ण यात्रा गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।

सडक निर्माणपछि नाला नकाट्दा समस्या भएको चालकको भनाइ छ । विशेषगरी आठबिसकोट, काँक्री, रुकुमकोट बजारबाट सेवा लिने उपभोक्ता महँगीको मारमा परेका छन् । सडक सञ्चालन नहुँदा मान्छेबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले सामान महँगो भएको व्यवसायीहरुले बताउँएका छन् ।।