भोजपुर, १ साउन
बर्षायामको बेला खोलामा आएको बाढीले ओहोरदोहोर गर्न समस्या भएपछि भोजपुरको पश्चिमी ओखे्र गाविसका महिलाहरुले काठेपुल निर्माण गरेका छन् । धेरै ठाउँमा हारगुहार गर्दा पनि सहयोग नपाएपछि महिलाहरुले आफ्नै सक्रियतामा करिब ४ लाखको लागतमा ओख्रे ९ मा रहेको बान्ताङ्ग खोलामा काठेपुल निर्माण गरेका हुन् ।pool

उनीहरुले खोलाको दुवै किनारमा ग्याविङ तार सहित ढुङ्गाको पर्खाल उठाएर सालको काठको पुल निमार्ण गरेका छन् । पुल निर्माणको लागि महिलाहरु आफैले श्रमदान गरेका थिए । बर्षाको समयमा ओहोरदोहोर गर्दा बाढीको भेलले बर्षेनी ज्यानै जाने गरेकाले सामुदायिक संस्थामा संकलन गरिएको रकम र जनश्रमदानबाट पुल निर्माण गरिएको जलेश्वरी सामुदायिक संस्थाका कोषाध्यक्ष बर्तमाया विष्टले बताउनुभयो ।

पुुल निर्माण भएपछि ओख्रे गाविसका खेना, बान्ताङ र बुताङ टोलका ६ सय घरपरिवार लाभान्वित भएका छन् ।