इन्द्रेणी संवाददाता
रोल्पा, साउन १ ।
ललित साहित्य परिषद्, रोल्पाले मासिकका रुपमा सञ्चालन गर्दै आएको ‘एकल रचना वाचन’ कार्यक्रम अबदेखि द्वैमासिक रुपमा सञ्चालन गर्ने भएको छ । परिषद्को आज सम्पन्न बैठकले उक्त कार्यक्रम सञ्चालन गर्न आर्थिक अभाव भएको कारण अबदेखि द्वैमासिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
गएको जेठमा २५ औं श्रृंखला सम्पन्न गरेको थियो । २५ वटा श्रृंखलाका एकल रचना वाचकहरुको रचनाहरु समेटी कृति प्रकाशनको तयारी गरिरहेको परिषद्का अध्यक्ष ओम केसीले बताए ।
बैठकले ‘एकल रचना वाचन’को २६ औं श्रृंखला साउनको अन्तिम शनिबार गर्ने निर्णय गरेको छ । साउनको श्रृंखलामा गैरीगाउँ–७, रोल्पा निबासी साहित्यकार गोकर्ण पुनमगरको ‘एकल रचना वाचन’ गर्ने निर्णय गरेको छ ।
यसबीच परिषद्मा नयाँ पुरस्कार थपिएको छ । जेलबाङ निबासी कथाकार क्षितिज मगरले आफ्नो बुवाको नाममा नगद २५ सयको ‘दलसुर कथा पुरस्कार’ स्थापना गरका हुन् । जिल्लामा कथा लेखनमा क्रियाशील एक जना कथाकारलाई उक्त पुरस्कार मोती जयन्तीको अवसर पारी प्रदान गर्ने निर्णय भएको परिषद्का महासचिव नवीन लोचन मगरले जनाए ।
यस्तै बैठकले यसै साउनको २२ गते यसवर्षको ‘सीमावारि सीमापारि पुरस्कार’ वितरण गर्ने निर्णय गरेको छ । १६ जना गजलकारहरुद्वारा ८० हजारको अक्षयकोष स्थापना गरी वितरण गरिने उक्त पुरस्कार जिल्लाकै ठूलो पुरस्कार हो । ५ हजार राशी रहेको उक्त पुरस्कार जिल्लामा वर्षभरिमा प्रकाशित कृतिहरुमध्ये छनौट गरी उत्कृष्ट कृतिलाई प्रदान गरिन्छ ।
सोही अवसरमा पुरण क्षेत्रीद्वारा स्थापित ‘वीर स्मृति कविता पुरस्कार’ वितरण गर्ने निर्णय समेत भएको छ । यस पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो । हरेक दुई दुई वर्षमा जिल्लामा कविता विधामा यो पुस्कार प्रदान गरिन्छ । बैठकले मोती जयन्ती मनाउनका लागि साउन ५ गते जिल्लाका साहित्यिक संस्थाहरुसँग समन्वयात्मक बैठक बस्ने निर्णयसमेत गरेको छ ।।
पुरस्कार छनौट समित गठन
परिषद्ले प्रदान गर्ने ३ वटा पुरस्कारका लागि विभिन्न पुरस्कार छनौट समिति गठन गरेको छ । परिषद्का आज लिबाङमा बसेको बैठकले लोक आलोकको संयोजकत्वमा ३ सदस्यीय ‘सीमावारि सीमापारि पुरस्कार छनौट समिति’ गठन गरेको छ । समितिको सदस्यहरुमा खेमराज गाउँले र चाङ चिराग छन् । त्यस्तै डी।बी। टुहुरोको संयोजकत्वमा ‘वीर स्मृति कविता पुरस्कार छनौट समिति’ गठन गरेको छ । समितिका सदस्यहरुमा नवीन लोचन मगर र मौसम रोकामगर रहेका छन् । त्यस्तै नवीन लोचन मगरेको संयोजकत्वमा ‘दलसुर कथा पुरस्कार छनौट समिति’ गठन गरेको छ । समितिका सदस्यहरुमा खेमराज गाउँले र अमर जिएम रहेका छन् ।
