घोराही, १ साउन
साहित्यकार खेमराज शर्माको ‘वीरे’ खण्ड काव्यको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत शुक्रबार एक सय ३० औं श्रृंखलामा शर्माको खण्डकाव्यको समीक्षा गरिएको हो ।
जिल्ला शाखा दाङका कार्यवाहक अध्यक्ष खेमराज मल्लको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष गिरिराज शर्मा, परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल र सल्लाहकार उत्तमकृष्ण मजगैयाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कृतिको समीक्षा साहित्यकार खगराज न्यौपानेले गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार गिरिराज अधिकारीद्वारा लिखित ‘ओझेलमा परेका राप्तीका केही पर्यटकीय स्थलहरु’ कृतिको विमोचन गरिएको थियो । कृतिको विमोचन प्रमुख अतिथि शर्माले गर्नुभएको थियो । कृतिको समीक्षा साहित्यकार नगेन्द्र गुरुले गर्नुभएको थियो ।
सो अवसरमा लेखक अधिकारीका छोरा निर्मल अधिकारीले पनि बोल्नुभएको थियो । केशव रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सीतादेवी सापकोटाले गर्नुभएको थियो । सहभागीहरुलाई साहित्यकार खेमराज शर्माले स्वागत गर्नुभएको थियो । आगामी एक सय ३१ औं श्रृंखलामा साहित्यकार तिला पन्थीको ‘नव सिर्जना’ कवितासंग्रहको समीक्षा गरिनेछ ।।