सिसहनियाँ, १ साउन
साझेदारी चौतारी कार्यक्रम सिसहनियाँ गाविस कार्यालयमा सम्पन्न भएको छ । साझेदारी विकास परियोजना बेसको आयोजना एवम् युएसएआईडीको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलाप केन्द्रले गरेका गतिविधिका बारेमा मेलमिलाप संयोजक परशुराम चौधरीले, इक्वल एक्सेसको बारेमा स्रोता क्लवका सहजकर्ता ओमप्रकाश गुप्ताले र सुशासन तथा महिला ससक्तिकरणका बारेमा सामाजिक परिचालक सिर्जना शर्माले जानकारी गराउनु भएको थियो ।
जसमा मेलमिलाप केन्द्रले हाल सम्म ६४ ओटा मुद्दाहरु मध्ये ५१ ओटा सहमती, १२ ओटा असहमती र १ ओटा केन्द्र बाहिर पठाइएको बताइएको छ । यसैगरी, मिडिया सँग सम्बन्धित इक्वल एक्सेस, महिला ससक्तिकरण र सुशासन कार्यक्रम सन्तोषजनक रहेको बताइएको छ ।
कार्यक्रममा राप्रपा नेपालका टेकबहादुर कार्की, राजमोका माधवप्रसाद आचार्य र विहानी रेडियो स्रोता समुहकी अध्यक्ष रविता चौधरीले बोल्नु भएको थियो । मेलमिलाप केन्द्रका कोषाध्यक्ष तारा घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक सिर्जना शर्माले गर्नु भएको थियो ।।
