दार्चुला, १९ पुस । सधै नेपालको भूमिका गिद्धे आँखा लगाउदै आएको भारतले दार्चुला सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारतले महाकाली नदी मिचेर जबरजस्ती पक्की तटबन्ध निर्माण गर्दैछ ।
महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन् ।
बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो । सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो ।
भारतको अनुरोधपछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ ।
दार्चुला जिल्ला प्रशासनले उक्त निर्माणकार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते पत्राचार गरेको थियो । तर, पत्रको बेवास्ता गर्दै निर्माणकार्य निरन्तर चलिरहेको छ ।











