सल्यान, १७ पुस। भारत निर्यात सहज नहुँदा सल्यानका किसान सस्तो मुख्यमा अदुवा विक्री गर्न बाध्य छन् । वर्षेनि करोडौंको अदुवा उत्पादन हुने जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन सकेको छैन ।
जिल्लाको शारदा नगरपालिका–१४ ढारखानीका किसान शेरबहादुर गिरीले यस वर्ष प्रतिकेजी ३० रुपैयाँमा अदुवा विक्री गर्नुपरेको गुनासो गरे । गतवर्ष ४० देखि ४३ रुपैयाँ प्रतिकेजीमा अदुवा विक्री गरेकोमा यस वर्ष अदुवा खरीदका लागि बाहिरबाट व्यापारी नआएकाले स्थानीय व्यापारीलाई नै बेचेको उनले बताए ।
जिल्लाको शारदा नगरपालिका–१४ माल्नेटा ढारखानी रेसा नभएको बोसे जातको अदुवाका लागि प्रख्यात छ । अन्य बाली लगाउन छोडेर अदुवाखेती गर्दै आएका यहाँका किसान यस वर्ष मूल्य नपाउँदा मर्कामा परेका छन् । माल्नेटा ढारखानीका गाउँका करीब २०० घरपरिवारले अदुवाखेती गर्ने गरेका छन् ।
सल्यानमा करोडौंको अदुवा उत्पादन हुँदै आएको छ । जिल्लाभर करीब २ हजार हेक्टर क्षेफलमा अदुवाखेती गरिन्छ । यस वर्ष ३० हजार मेट्रिकटन अदुवा उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार अहिले जिल्लाभरको तथ्यांक संकलनको काम भइरहेको छ ।











