काठमाडौं, १० पुस । करिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगर गाउँपालिकाका ७० वर्षीय गगनदेव अझै आन्दोलनमै छन् ।

kisanआन्दोलन गरेपछि उखुको पैसा पाइएला र त्यसमै थपथाप गरेर बैंकको कर्जा तिरुँला भन्ने सोचेका गगनदेव राय यादव त्यतिबेला झसंग भए, जतिबेला उनलाई बैंकले २१ दिनभित्र कर्जा नतिरे धितो लिलाम गरिदिने सूचना निकालेको खबर मिल्यो ।

भुक्तानीका लागि ११ दिनदेखि काठमाडौंमा धर्ना बसिरहेका सर्लाहीका उखु किसान ७० वर्षीय गगनदेव राय यादव कृषि विकास बैंकले दिएको ऋण चुक्ता गर्ने २१ दिनेसूचना देखाउँदै।

केही वर्षअघिसम्म गगनदेवले आफ्नो एक बिघा र बटैयामा लिएको २ बिघा जमिनमा उखु खेती गर्थे । त्यहीबेला उनले खेती गर्न र घरखर्च टार्न गाउँकै महाजनबाट ३६ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँ कर्जा लिएका थिए । गाउँले ब्याज महँगो हुने भएपछि उनले १६ कट्ठा जमिन धितो राखेर कृषि विकास बैंकबाट ९ लाख ५५ हजार रुपैयाँ कर्जा लिए । बारीको उखु बेच्ने भएपछि जिल्लाकै अन्नपूर्ण सुगर मिल्समा लगेर बेचे । ‘गाउँका टाठाबाठाले लगेर बेचिदिए, छिटो पैसा पाइन्छ भन्ने सुनेपछि छिमेकी राजमोहन राय र ज्वाइँ रामबाबु रायको नाम राखेर अन्नपूर्णलाई उखु बेचें तर पैसा अहिलेसम्म पाइनँ,’ उनले भने ।

साँवा अक्षर नचिन्ने गगनदेवलाई उखु कति क्विन्टल थियो भन्ने यकिन हिसाब याद छैन । तर उनले करिब ३ लाख रुपैयाँ चिनी मिलबाट पाउन बाँकी रहेको दाबी गरे । बैंकबाट लिएको कर्जाको ब्याज ६६ हजार रुपैयाँ पुगिसकेकाले अहिले उनले १० लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । उखुपीडित किसान संघर्ष समितिका हरिश्याम रायका अनुसार बैंकको धितोको सूचना हात परेपछि गगनदेवको आँखाबाट आँसु रोकिएको छैन । हरिश्यामले भने, ‘उखुको पैसा बेलैमा पाएको भए उतिबेलै कर्जा सदाइसक्ने उनको हिसाब थियो । तर मिल मालिकले पैसा नदिँदा आफ्नो हालत बिग्रिएकोमा उनको चिन्ता छ ।’

चाररपाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीहरूलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र पश्चिम नवलपरासीका उखु किसानहरू आन्दोलित छन् ।

पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर देहात फर्किने क्रम दोहोरिरहेकाले यसपाला भने उखु किसानहरू सबैले पैसा नपाएसम्म आन्दोलन गरिरहने मनस्थितिमा छन् । गत पुस १८ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा चिनी मिल र किसानहरूबीच सम्झौता भएको थियो । उक्त पाँचबुँदे सम्झौताको पहिलो बुँदामा लेखिएको थियो, ‘२०७६ माघ ७ भित्र उखुको भुक्तानी दिलाउन उद्योग मन्त्रालयले समन्वय गर्ने ।’ यही सम्झौता कार्यान्वयन नभएपछि काठमाडौं आएका गगनदेवजस्तै उखु किसानहरूले निरन्तर आन्दोलन गरेको डेढ साता हुन आँटिसक्यो । यो बीचमा गृह मन्त्रालयले किसानको रकम नतिर्ने चिनी मिललाई पक्राउ गर्ने बताएपछि केही उखु किसानले पैसा पाए पनि सबै किसानको बक्यौता चुक्ता भइसकेको छैन । कान्तिपुरबाट