सप्तरीको राजविराजस्थित मालपोत कार्यालयको दैनिक कामकाज विहीबार दिनभर ठप्प भएको छ ।
जग्गा रजिष्ट्रेसन गर्नेक्रममा कुटपिटको विषयलाई लिएर भएको विवादका कारण विहीबार कार्यालयमा काम हुन नसकेको हो ।
मालपोत कार्यालयको रजिष्ट्रेसन फाँटमा रकम लेनदेनसम्बन्धी भएको विवादका क्रममा राजविराज–१० का ३४ वर्षीय श्यामप्रसाद साहलाई कार्यालयका कर्मचारीहरुले कुटपिट गरेका थिए ।
प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा आएको टोलीले आरोपित कर्मचारी र पीडित साहसमेतलाई नियन्त्रणमा लिएका थिए ।
यद्यपि, कर्मचारीहरुलाई तत्कालै छाडिदिएको भन्दै सेवाग्राही तथा स्थानीयबासिन्दाले दोषीलाई आम नागरिकसरह कारबाहीको माग गर्दै मालपोत कार्यालयको कामकाज ठप्प पारेका हुन् ।।