ओमप्रकाश गुप्ता
सिसहनियाँ ३० असार ।
गाविसवाट हुने हरेक काम काजलाई छिटो र छरितो बनाउन सेवाग्राहीहरुले माग गरेका छन् ।
सिसहनियाँ गाविसको आयोजना एवम् युएसएआइडी नेपाल, साझेदारी विकास परियोजना, बेस र गो.गो फाउन्डेसनको सहकार्यमा विहिवार सिसहनियाँ गाविसको आर्थिक वर्ष २०७२÷०७३ मा सम्पन्न भएका सम्पुर्ण योजना तथा कार्यक्रमको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सेवाग्राहीहरुले सो कुराको माग गरेका हुन् ।
साथै कार्यक्रममा सहभागी अन्य सहभागी वक्ताहरुले विकासे योजना प्रभावकारी तरिकाले सम्पन्न भए पनि काम गर्न निकै गाह्रो हुने बताएका थिए । सवै काम उधारोमा गर्दा विश्वास समेत गुम्ने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा सहभागी संघ सस्थाका प्रतिनिधिहरुले लक्षित वर्ग अन्र्तगत युवा, अपाङ, दलित र आदीवासी जनजातीहरुको बजेट निकै कम छुट्ने गरेकाले सो तर्फ ध्यान दिन गाविस कार्यालयलाई अनुरोध गरेका छन् ।
साथै सहभागी वडा नागरिक मञ्चका प्रतिनिधिहरुले योजनाका् काम गर्दा बैङकिङ कारोकार निकै झन्झिटिलो भएकाले स्थानीय बैङकहरुमा खाता खोल्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । साथै उनीहरुले वडा नागरिक मञ्च गठन प्रकृया चित्त बुझदो नभएकाले राज्यको निति नियम परवर्तन हुनु पर्ने सुझाव समेत दिएका थिए । एक आर्को प्रसङगमा सहभागी अन्य वक्ताहरुले पहाडी क्षेत्रमा बजेट कम छुट्याउने गरेकाले त्यस तर्फ गाविसको ध्यान जानु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा सहभागी वक्ताहरुले गाविसमा रहेको शौचालय महिला र पुरुषका लागि अलग अलग हुनु पर्ने सुझाव समेत दिएका छन् ।
त्यसै गरि कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले सिसहनियाँमा सुचना केन्द्रको माग गर्नुका साथै मिडिया क्षेत्रमा समेत बजेट छुट्याउन कन्जुसाई गर्न नहुने सुझाव दिएका थिए । सहभागीले उठाएको जिज्ञासाको जवाफ दिदै गाविस सचिव मंगलप्रसाद चौधरीले गाविसको कामकाजलाई छिटो र छरितोे बनाउने, लक्षित वर्गको बजेट समान तरिकाले बाडफाड गर्ने, टाढाका सेवाग्राहीहरुलाई विषेश प्राथामिकता दिने, गाविसको सम्पुर्ण काम कम्पयुटरको माध्यमबाट गर्ने, हरेक कार्यक्रमको आम्दानी र खर्च विवरण सवैले देख्ने ठाउँमा टाँस गर्ने, बैङकिङ सेवालाई प्रभावकारी बनाउन जिविस सँग समन्वय गर्ने , सरजमिन प्रकृयालाई थप सजिलो बनाउने र हरेक कार्यक्रम तथा योजनाको मुल्याङकन तथा अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।