इन्द्रेणी संवाददाता

दाङ, १९ कार्तिक । पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महाराकी धर्मपत्नी सीता महराको  निधन भएको छ ।

1शुक्रबारदेखि थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत रहेकी सीताको आज बिहान ६ः३० बजे उपचारकै क्रममा हस्पिटलमा निधन भएको हो ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र सास फेर्न समस्या भएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

2हस्पिटलमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार निधन भएको हो । सीता विगत दश वर्षदेखि माइस्थेनिया नामक रोगबाट समेत पीडित भएको बताइएको छ ।

वि.स. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

सीताको निधनबाट सभामुख सापकोटा मर्माहत
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै उनले महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।