काठमाडौं, २९ असोज । विज्ञापन ऐन २०७६ को व्यवस्थाअनुरूप ८ कात्तिकदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा क्लिनफिड लागू हुने भएको छ ।
गत वर्ष संसद्बाट पारित विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ । पहिल्यैदेखि प्रसारणमा रहेका टेलिभिजन च्यानलहरूले एक वर्षभित्र क्लिनफिड लागू गर्नुपर्ने व्यवस्था पनि सो दफामा छ । सोहीअनुरूप विज्ञापन ऐन लागू भएको एक वर्षपछि ८ कात्तिकपछि क्लिनफिड लागू हुने भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार नै विदेशी च्यानललाई विज्ञापनरहित ९क्लिनफिड० बनाउन प्रसारक संस्थाहरूलाई निर्देशन दिएको छ । विज्ञापन ऐनमा भएको व्यवस्थाअनुरूप क्लिनफिड लागू नगर्ने संघ तथा संस्थालाई कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुनै पनि मुलुकमा प्रसारण हुने विदेशी च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्न पाउँदैनन् । तर, नेपालमा भने यसअघि क्लिनफिडसम्बन्धी कानुनी व्यवस्था नभएका कारण विदेशी च्यानलहरूले कार्यक्रमका साथमा विज्ञापन पनि प्रसारण गर्दै आएका छन् ।
विज्ञापन ऐनविपरीत प्रसारक संस्थाहरूले विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेमा ५ लाख रुपैयाँ जरिवाना र १ वर्षसम्मको सजाय गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बताए । ‘क्लिनफिड कार्यान्वयन नगर्दा विज्ञापन ऐन र राष्ट्रिय प्रसारण ऐनसमेत आकर्षित हुन्छ । विज्ञापन बोर्ड पनि गठन हुँदै छ । यसले सूक्ष्म तरिकाले अझै नियमन गर्नेछ,’ उनले भने, ‘ऐनअनुसार च्यानलसमेत बन्द गर्न सकिनेछ ।’
ऐनअनुसार क्लिनफिड कार्यान्वयन नगर्ने संस्थालाई ५ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । त्यस्तै, राष्ट्रिय प्रसारण ऐन ०४९ अनुसार १० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । आवश्यकताअनुसार दुवै सजाय गर्न सक्ने व्यवस्थासमेत गरिएको छ नयाँ पत्रिकामा खबर छ।











