काठमाडौं, १० असोज । रोजगारी गुमाएका श्रमिक भिसासमेत सकिँदा ओभरस्टेवापत करोडौँ जरिवाना तिर्न बाध्य
वैदेशिक रोजगारीमा रहेका श्रमिकको उद्धारलाई सहज नबनाउँदा भिसा अवधि सकिएका २ लाखभन्दा धेरै श्रमिक स्वदेश फर्कन पाएका छैनन् ।
खाडी र मलेसियालगायतका मुलुकमा भिसा अवधि सकिएका श्रमिकहरू ओभरस्टेको चर्को जरिवानामा पर्न थालेका छन् । मानवअधिकार आयोगको अध्ययनले प्रतिदिन १५ सय श्रमिकको भिसा अवधि सकिन्छ ।
यस हिसाबले नेपालमा लकडाउन सुरु भएदेखि हालसम्म २ लाख ७५ हजार श्रमिकको भिसा अवधि सकिएको छ । तर, ६ असोजसम्म जम्मा ६३ हजार ५ सय मात्रै स्वदेश फर्किका छन् भने २ लाख ११ हजार ५ सय श्रमिक मुलुक फर्कन पाएका छैनन् ।
श्रमिकले सम्बन्धित मुलुकमा भिसा अवधि सकिएपछिको हरेक दिन ओभरस्टेको नाममा जरिवाना तिर्नुपर्ने हुन्छ । धेरै मुलुकले ओभरस्टेमा बसेका श्रमिकहरूलाई महामारीका सुरुका महिना छुट दिए पनि त्यसवेला सरकारले उद्धार गर्न नसक्दा उनीहरू जरिवानामा पर्न थालेका छन् ।
सरकारको उद्धार कार्य सुस्त हुँदा श्रमिकहरू ठूलो जरिवानामा पर्दै आएको साउदी अरबका लागि नेपाली राजदूत डा। महेन्द्रप्रसाद सिंहले बताए । श्रमिकहरूले सम्बन्धित मुलुकले दिएको जरिवाना छुटको सुविधा उपयोग गर्न नपाएको उनले बताए ।
कोभिड–१९ को संक्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै कतिपय मुलुकले अवैधानिक रूपमा बस्दै आएका श्रमिकलाई वैधानिक कागजपत्र बनाउनसमेत अवसर दिएका छन् । तर, सरकारले उडान संख्या र नेपाल फर्काउन श्रमिकको संख्यामा कोटा तोक्ने, नियमित उडान नगर्ने र सम्बन्धित मुलुकका एयरलाइन्सलाई उडान अनुमति नदिँदा श्रमिकहरूले छुट सुविधासमेत उपयोग गर्न नपाएको राजदूत सिंहले बताए ।
कोरोना संक्रमणका कारण रोजगारी गुमाएका श्रमिकमध्ये अझै ३ लाख ३४ हजार स्वदेश फर्कने पर्खाइमा छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार मलेसिया र खाडीका मुख्य गन्तव्य मुलुकमा १३ लाख ४८ हजार ८ सय ७२ श्रमिक छन् । जसमध्ये भिसा करार अवधि सकिएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या भने १ लाख २७ हजार छ ।
त्यस्तै, रोजगारी गुमाएर नेपाल फर्कन सक्ने श्रमिकको संख्या २ लाख ८० हजार छ । यसरी नेपाल फर्कन सक्ने अनुमानित श्रमिकको संख्या भने ४ लाख ७ हजार रहेको बोर्डको तथ्यांक छ । यी मुलुकहरूबाट असोज ६ गतेसम्म ६३ हजार ४ सय ८७ श्रमिक नेपाल फर्किएका छन् । नयाँ पत्रिकाबाट











