इन्द्रेणी संवाददाता
सल्यान, ९ असोज । दैनिक रुपमा रोल्पा सिमेन्ट प्रालिसम्म आवतजावत गर्ने ट्रिपर र यसले उत्पन्न गरेको समस्याका बारेमा सल्यान कपुरकोटमा छलफल भएको छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको विशेष उपस्थितिमा रोल्पा सिमेन्ट, ट्रिपर ब्यवशायी, स्थानीय राजनितीक दल र प्रभावित नागरिकह बीच छलफल गरेका हुन् । यद्यपि विहिबार सम्पन्न उक्त बैेठकले कुनै ठोस निकास दिन सकेन ।
दाङ तुलसीपुरदेखि कपुरकोटहुँदै रोल्पा त्रिवेणी गाउँपालिकास्थित सिमेन्ट कम्पनीसम्म जोडिएको सडकमा हिड्ने अन्य सवारी साधन, सडक नजिकका वासिन्दा तथा पैदल यात्रुले निकै सास्ती खेप्नुपरेको भन्दै पटकपटक गुनासो र आन्दोलन गर्दै आएका छन् । सिमेन्ट प्रालि सम्म पुग्ने सडक कपुरकोट गाउँपालिकाका ५ वटा वडा हुँदै पुगेको र ट्रिपर चल्दा उड्ने धुलो, सडकका खाल्डाखुल्डीले हैरान भएको कपुरकोट ५ खाली निवासी गिरीराज ओलीले बताए ।
यस सडकखडण्मा कपुरकोट, खाली लगाएतका बजार क्षेत्रमा ट्रिपरका कारण उड्ने धुलोले ब्यापार ब्यवसाय गर्न समेत समस्या उत्पन्न भएको र स्थानीय सरकारले समस्या समाधानमा पहल गर्नुपर्ने भन्दै स्थानीयले आवाज उठाउदै आएका थिए । कपुरकोट गाउँपालिकाले आयोजना गरेको बैठकमा गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले सडक तथा ट्रिपरको क्षमता भन्दा बढी लोड बोक्ने गरेको, सडक मर्मत, धुलो नियन्त्रण र स्थानीयसंँग गरेको सम्झौतामा प्रालिले कुनै चासो नदिएको भन्ने गुनासो आएको भन्दै रोल्पा सिमेन्ट प्रालिका प्रशासन प्रमुख सुरेन्द्र अधिकारीसंग जवाफ मागेका थिए ।
आफुहरुले आफ्नो पालिका क्षेत्रभित्र पर्ने सडक मर्मतको तयारि गरेको भए पनी स्थानीय सरकारको कार्यक्षेत्र भित्र नपर्ने भएकाले सडक मर्मत गर्न नसकिएको सेनले बताए ।
रोल्पा सिमेन्ट प्रा.लि. का प्रशासन प्रमुख अधिकारीले सरकारले उक्त सडक खण्डमा विगत २ वर्षदेखि कुनै पनि बजोट विनियोजन नगरेको बताए । यद्यपि प्रालिसंग सम्झौता गरेर सञ्चालन भइरेका पुन कन्ट्रक्शनले प्रतिटन २५ रुपैयाँ जम्मा गरेर सडक मर्मत गरिरहेको बताए । यस प्रकारको मर्मतले दिर्घकालिन समाधान नदिने, धुलोको कारण स्थानीयले सास्ती ब्यहोर्नुुपरेको, सडकमा गुड्ने अन्य साना सवारि साधन जोखिममा रहेको स्वयम ट्रिपर ब्यवशायीले पनि स्वीकारेका छन् ।
बैठकमा सडक डिभिजन दाङका प्रमुखलाई समेत आमन्त्रण गरिएकोमा उनी उपस्थित नभएको बताइएको छ । बैठकले उक्त जिर्ण सडकको मर्मत, धुलो नियन्त्रण जस्ता समस्या समाधानमा रोल्पा सिमेन्ट प्रालिले के कति योगदान र बजेट खर्च गर्न सक्ने हो यस बारेमा स्पष्ट भइ बोर्ड बैडकबाट निर्णय गरी अर्काे बैेठकमा उपस्थित हुने निर्णय गरेको छ ।
यस्तै राप्ती लोकमार्गको मर्मत र स्तरोन्नतिका सन्दर्भमा के कति रकम विनियोजन भएको, यसको आगामि कार्यदिशा के ? भन्ने बारेमा स्पष्ट धारणा सहित सडक डिभिजन कार्यालय दाङको जिम्मेवार कर्मचारी उपस्थित भइ उपयुक्त निर्णय गर्ने निचोड निकालेको छ ।











