जितेन्द्र बुढाथोकी
रुकुमकोट,७ असोज । रुकुम -पूर्वको सदरमुकाम रुकुमकोटमा कोरोना संक्रमितको संख्यामा बढदै गएपछी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी राजकुमार राइको अध्यक्षतामा मङगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकाम रहेको सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा मङगलबार राती १२ बजेदेखि लागु हुने गरी असोज १३ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको हो ।
आइतबार र सोमबार गरी दुई दिनमा जिल्लाका ३५ जनामा कोरोना देखिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रजिअ राइले बताउनुभएको छ ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै थप संक्रमणको जोखिमबाट बच्न चहलपहल धेरै हुने सदरमुकामका दुई वडामा निषेधाज्ञा जारी गरिएको प्रजिअ राइको भनाई छ । यस अघि भदौ २७ बाट यी दुई वडालाई सिल गरिएको थियो । यस्तै उहाँले जिल्लाबासी सबैलाई सुरक्षित र सजग भएर बस्न आग्रह गर्नुभएको छ ।
यहि निषेधाज्ञाको समयमा नागरिकको सहजताको लागि रुकुमकोटमा खाद्यान्न पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र साझ ४ बजेदेखि ६ः ३० बजेसम्म मात्र खोल्न पाइने छ । औषधी पसलहरु भने २४ घण्टै खुला रहने जिल्ला प्रशासन कार्यालयकी सुचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले जानकारी दिनुभएको छ ।











