इन्द्रेणी संवाददाता 

काठमाडौं । मंगलबार साँझ र बुधबार बिहान गरी थप ५ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु  भएको छ। मंगलबार साँझ काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जनाको निधन भएको थियो भने भैरहवाको भीम अस्पतालमा नवलपरासी पश्चिमकी एक महिलाको मंगलबार राती नै निधन भएको छ।

त्यस्तै, बुधबार बिहान कपिलवस्तुकी एक महिलाको वुटवलस्थित कोभिड विशेष अस्थायी अस्पतालमा निधन भयो भने बुधबार बिहानै बाराका एक पुरुषको वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको छ। यसरी मंगलबार बेलुकीदेखि बुधबार बिहानसम्म नेपालमा थप ५ जना कोरोना संक्रमित बिरामीहरुको ज्यान गइसकेको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएका दुई जनामध्ये एक जना काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष रहेका छन् भने अर्की तनहुँकी २० वर्षीया युवती हुन्। गत भदौ १५ गते अस्पतालमा भर्ना भएका ७५ वर्षीय वृद्ध सुगर प्रेसर लगायतका दीर्घ रोगी थिए भने २० वर्षीया युवतीमा बाथ रोग र मिर्गौलाको समस्या थियो। मिर्गौलाको डायलासिस गराइरहेकी उनी १६ गते नै अस्पताल भर्ना भएकी थिइन्। अस्पताल स्रोतका अनुसार दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो।

त्यस्तै, मंगलबार राती १० बजेतिर भैरहवाको भीम अस्पतालमा ज्यान गुमाएकी रामग्राम नगरपालिका–५ परासीकी ६५ वर्षीया महिला हुन्। भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई १५ गते भीम अस्पतालमा भर्ना गरिएको थियो। खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकी उनलाई अस्पतालले आइसियूमा राखेर उपचार गरिरहेको थियो।

वुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान निधन भएकी कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया महिला हुन्। कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते नै अस्पताल भर्ना भएकी उनलाई सोही दिनदेखि नै आइसियूमा राखेर उपचार भइरहेको थियो।

त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा बुधबार बिहान १ बजे निधन भएका व्यक्ति बाराको सिम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय पुरुष हुन्।

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरेका ती पुरुषमा मुटु रोग र दमलगायतका दीर्घ रोगबाट पनि पीडित रहेका थिए।