नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै भावी सरकारको स्वरुप र नेतृत्वको बारेमा दलहरुबीच आन्तरिक छलफलमा सुरु भएको छ । सिंहदरवारस्थिति माओवादी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले गत वैशाख २३ गते भएको ९ बुँदे सहमति र त्यसबेलाको ३ बुँदे भद्र सहमति पालना नभएका कारण आफूहरुले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिनुभयो ।
सरकारबाट बाहिरिने बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको चिठी पढेर प्रवक्ता भुसालले सुनाउनु भएको थियो । पत्रकार सम्मेलन माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको बारेमा नेपाली कांग्रेसलाई जानकारी गराइसकिएको र कांग्रेसले प्रचण्ड नेतृत्वमा बन्ने नयाँ सरकारका लागि सघाउने जानकारीसहितको पत्र आफूहरुलाई प्राप्त भइसकेको दावी गर्नुभयो ।
काँग्रेसको समर्थनमा प्रचण्ड नेतृत्वमा सरकार बनाउने बारेमा छलफल सुरु भए पनि मन्त्रालयको भागबण्डा बारेमा भने टुङ्गोमा पुग्न बाँकी रहेको महराको भनाइ छ । पत्रकार सम्मेलनमा एमाले भित्र पनि प्रचण्ड नेतृत्वमा सरकार गठन गर्नुपर्ने बारेमा बहुमत रहेको दावी महराले गर्नुभयो । हिजो पनि माओवादी केन्द्र र कांग्रेसबीच भएको वार्तामा नयाँ सरकार गठन गर्ने सहमति भए पनि माओवादीले सरकार नछोड्दासम्म निर्णय गर्न नसकिने काँग्रेसले जनाएको थियो ।
पत्रकार सम्मेलन केन्द्रका नेता महराले प्रचण्ड नेतृत्वको सरकारले स्थानीय निकायको निर्वाचन गराउने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार गठन भई प्रदेशको र आम निर्वाचन गराउने सहमति भएको जानकारी दिनुभयो । आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने महराले टिप्पणी गर्नुभयो ।।
