इन्द्रेणी संवाददाता
दाङ, १३ भदौ । नेपाल बार एशोसियसन उच्च अदालत बार ईकाइ तुलसीपुर दाङले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज शनिवार एशोसियसनले साधारणसभा सम्पन्न गरेको हो ।

118342250_3215983001817087_3576649541484453103_nसभामा बोल्दै वरिष्ठ अधिवक्ता बामदेव शर्माले नेपाल बार एशोसियसनका सबै तहका बार ईकाइलाई नीतिगत रुपमा केन्द्रिकृत गर्नुपर्ने बताएका छन् । नेपाल बारको एउटै छाता संगठनमा आवद्ध सम्पूर्ण कानुन व्यबसायीहरुले गुटगत राजनीति र मनोगत निर्णयलाई त्याग्नु समेत उनले आग्रह गरे ।

उच्च अदालत बार ईकाइ तुलसीपुर दाङका अध्यक्ष रबिन्द्र धितालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का बरिष्ठ अधिवक्ता प्रदीप धितालले कानुन व्यबसायीहरु समाज र राष्ट्रको आशाको केन्द्र भएकाले आचारसंहिताको पूर्ण पालनासंँगै कानुन व्यबसायीहरुले आफ्नो आचरणमा आमुल सुधार गर्नुपर्ने धारणा राखेका थिए ।

उपाध्यक्ष गोकर्ण खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कालो कोटलाई समाजले सम्मान गर्ने भएकोले यसको छवी र मर्यादालाई उचो राख्न सम्पूर्ण कानुन व्यबसायीहरु गम्भिर हुन आग्रह गरे । कार्यक्रममा कोषाध्यक्ष प्रकाश रेग्मीले आर्थिक प्रतिवेदन र सचिव सुनिल धितालले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।