इन्द्रेणी संवाददाता
काठमाडौं, ९ भदौ । पार्टीभित्र देखिएको विवादले एकआपसमा तिक्तताको दुरीमा रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास वालुकाटारमा दुई अध्यक्षबीचको वार्ता शुरु भएको स्रोतले जनाएको छ ।

kpआपसी तिक्तता बढ्दै गएपछि समस्या सामाधानका लागि दुई अध्यक्षले ६ सदस्यी कार्यदल समेत गठन गरेका थिए । गठित कार्यदलले विवाद समाधानका लागि केही दिनअघि मात्रै प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनमाथि छलफलका लागि दुई अध्यक्ष जुटेको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार दुई अध्यक्षबीच वार्ता जारी रहेको र कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठकमा प्रतिवेदन छलफलका लागि लग्ने तयारी छ ।

कार्यदलले आठ दिन लगाएर १६ बुँदे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । प्रतिवेदनमा पाचै वर्ष अध्यक्ष ओली प्रधानमन्त्री हुने र अर्का अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष भएर पार्टीको जिम्मेवारी निर्वाह गर्ने प्रस्ताव छ ।