सुर्खेत, ३२ साउन। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ ।

koronanaप्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीवार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टाइनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै कर्मचारी र जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पीसीआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

बैठकले मास्क अनिवार्य प्रयोग गर्नरगराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टाइन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ ।

कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । रासस