इन्द्रेणी संवाददाता
नेपाल टेलिकम घोराही दाङको टोलीले पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा संग भेटघाट गरेको छ ।
घोराही बजारमा अप्टिकल फाइबर बिस्तार गरि घोराही उपमहानगरपालिकाका आम नागरिकहरुलाई सर्वसुलभ दरमा गुणस्तरीय सेवा दिने उद्देश्यले घोराही बजारमा अप्टिकल फाइबर बिस्तार गर्ने टेलिकमको लक्ष्य अनुसार पूर्व सभामुख महरा संग भेटघाट गरि यो कार्य तत्काल अगाडी बढाउन पहल गरिदिन अनुरोध गरेको हो ।
नेपाल टेलिकम घोराही दाङका कार्यालय प्रमुख अमरनाथ योगीको नेतृत्वमा आएको टोलीले टेलिकमको “फाइबर टु दी होम” भन्ने नारा अनुसार सिधै नागरिकहरुको घरघरमा सस्तोमा इन्टरनेट पुर्याउने लक्ष्य राखेको र यसको लागि ढिला सुस्ती भैरहेकाले यसलाई फास्ट ट्रयाकबाट जति सक्दो छोटो कार्यान्वयनमा ल्याउन पहल गरिदिन पूर्व सभामुख महरालाई अनुरोध गरेका थिए ।
जवाफमा पूर्व सभामुख महराले आफु संचारमन्त्री हुँदा जनताको “हातहातमा मोबाइल र घरघरमा इन्टरनेट”को नारा लिएर द्रुतगतिमा काम गरेको दृष्टान्त दिंदै यसका लागि तत्काल पहल गर्ने बचन दिएका थिए ।
आफ्नो निर्वाचन क्षेत्रका आम नागरिकलाई सर्वसुलभमा गुणस्तरीय सेवा उपलब्ध गराउने आफ्नो प्रमुख दायित्व भएको भन्दै पूर्व सभामुख महराले आफुले यसका लागि आजैबाट पहल गर्ने बताए ।
हाल घोराहीका केहि भागमा यसको परिक्षण प्रयोग भएपनि आम नागरिकहरुको घरघरमा यस्तो सेवा पुग्न नसक्दा नागरिकहरुले महँगोमा निजि कम्पनीहरुबाट नेट चलाउन बाध्य भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन पूर्व सभामुख महराले बिशेष चासो राखेका थिए ।











