काठमाडौं, ३० साउन । नेकपाभित्रको विवाद टुंग्याउने गृहकार्यमा जुटेका नेताहरूले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमतिनजिक पुगेको दाबी गरेका छन् । नौ दिनको संवादहीनता तोड्दै ओली र प्रचण्डबीच सहमतिका लागि अधिकार बाँडफाँडसहितका विभिन्न विषयमा ठोस छलफल भएको छ ।
ओलीसँगको छलफलपछि प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । तीमध्ये एक नेताले प्रचण्डलाई उद्धृत गर्दै बताएअनुसार बिहीबार दुई अध्यक्षबीच अधिकार बाँडफाँडको विषयमा लगभग सहमति भएको छ ।
‘विषयवस्तुकेन्द्रित सकारात्मक संवाद भएको छ । भोलि ९शुक्रबार० पनि छलफल हुन्छ । सहमति बन्छ कि भन्ने विश्वास बनेको छ,’ गृहकार्यमा जुटेका एक नेताले नयाँ पत्रिकासँग भने, ‘स्थायी कमिटी बैठकचाहिँ सुचारु हुन्छ ।’ नेता नेपालसहितका अन्य नेतालाई पनि विश्वासमा लिने र यसै साता स्थायी कमिटीमार्फत निर्णय लिने ओली–प्रचण्डको तयारी छ ।
महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्यद्वय शंकर पोखरेल र जनार्दन शर्माले केही दिनयता गरेको गृहकार्य र उनीहरूले तयार पारेको सहमतिको मस्यौदामा बिहीबार ओली र प्रचण्डबीच दुई घन्टाभन्दा बढी एक्लाएक्लै संवाद भएको थियो । यसबाहेक ओली र प्रचण्डले पौडेल, पोखरेल र शर्मासहित पनि सहमति जुटाउने प्रस्तावमाथि छलफल गरेका थिए ।
‘प्रचण्डले पार्टीको सम्पूर्ण कामकारबाही अगाडि बढाउनेसहितको अध्यक्षको जिम्मेवारी पूरा गर्ने र ओलीले पार्टीसँगको सल्लाहमा सरकार चलाउने’ प्रस्तावमा दुई अध्यक्ष सहमतिनजिक पुगेको गृहकार्यमा जुटेका एक नेताले बताए । उनका अनुसार त्यसअगाडि स्थायी कमिटीमा दुवै अध्यक्षले आ–आफ्ना कमजोरीको आत्मआलोचना गर्ने पनि प्रस्ताव छ ।
यसबाहेक मन्त्रिपरिषद् हेरफेर गर्ने प्रस्तावमा पनि दुवै अध्यक्ष सहमतिनजिक पुगेका छन् । ‘सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको प्रस्तावमा पनि छलफल सकारात्मक भएको स्रोतले बतायो नयाँ पत्रिकामा खबर छ। सहमतिको मस्यौदामा रहेको ‘आवश्यकताअनुसार मुख्यमन्त्री र प्रदेश मन्त्रिपरिषद् हेरफेर’का लागि पनि ओली र प्रचण्ड सकारात्मक भएका छन् ।
यसबाहेक संगठनात्मक कामलाई टुंग्याउने गरी शक्तिशाली कार्यदल बनाउने पनि सहमतिको मस्यौदा प्रस्तावमा रहेको एक नेताले बताए । स्थायी कमिटी बैठकअगाडि यस्तो कार्यदल गठन गरेर सहमतिलाई अन्तिम रूप दिने अर्को विकल्पमा पनि ओली र प्रचण्डबीच छलफल भएको छ ।











