रुकुम, २८ असार
घरमुलीको मृत्युपछि बिचल्लीमा परेको रुकुम मुरुको एक दलित परिवारलाइ घरजग्गा उपलव्ध गराइएको छ । मुरु– ६ नयाँवस्तीमा रहेको सार्वजनिक वनको छेउँमा बस्दै आएकी पवित्रा दमाईको परिवार श्रीमानको मृत्युसँगै आर्थिक अभावका कारण बिचल्लीमा परेको छ ।
अर्काको घरमा काम गरेर परिवार धानिरहेका मानबहादुर दमाईको गत बैशाख ४ गते भीरबाट लडेर मृत्यु भएपछि श्रीमती पवित्रा दमाईलाई छोराछोरी पाल्न मुश्किल परेको छ । उहाँको समस्याका वारेमा रुकुमका स्थानीय विकास अधिकारी भरत कुमार शर्माले आफ्नो सामाजिक सञ्जालमा सामाग्री पोष्ट गर्नुभएको थियो ।
उहाँको सामाजिक सञ्जाल पबित्राको स्थितीवारे जानकारी पाएपछि रोजगारीका लागी मकाउ पुगेका नेपाली युवाहरुले १ लाख २० हजार रुपैयाँ जम्मा गरी ४ सय ९० वर्ग मिटर जग्गा खरिद गरिदिएका छन । हाल मकाउमा रहेका खलंगा–५ रुकुमका घनश्याम खड्का, छिवाङका भरत केसी र खलंगाका ओम खड्काको अगुवाईमा जम्मा भएको १ लाख १८ हजार रुपैयाँबाट खरिद गरिएको जग्गाको लालपुर्जा पवित्रालाई हस्तान्तरण गरिएको हो ।।
