विराटनगर, २३ साउन । सरकारले लकडाउन खोलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो गर्नेहरुको संख्या बढेको छ । चोर बाटोबाट ओहोरदोहार गर्नेहरुका कारण नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।
साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ ।
विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताए ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन । यस्तो कार्यले सीमा क्षेत्रमा कोरोनाको त्रास फैलनका साथै जोखिम समेत बढेको त्यहाँका स्थानीहरुले बताएका छन् ।











