उदय बीसी
दाङ, १५ साउन । दाङको घोराहीमा निर्माण हुन लागेको वायोग्याँस प्लान्टको भौतिक निर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल्ड साइडको करीव ३ विगाह क्षेत्रफलमा ग्याँस प्लान्ट निर्माण भएको हो ।
घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहरबाट ग्याँस उत्पादन गर्नका लागि निर्माण शुरु गरिएको ग्याँस प्लान्टको भौतिक पूर्वाधारको काम करीव सकिएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । ‘ ग्याँस प्लान्टको भौतिक पूर्वाधारको काम सम्पन्न भएको छ’, उनले भने, ‘अब ग्याँस उत्पादनका लागि आवश्यक प्रविधिका सामग्री आएमा ग्याँस उत्पादनको काम पनि शुरु गछौं ।’
लकडाउनका कारण ग्याँस उत्पादनका लागि भारतबाट आउने प्रविधिसँग जोडिएका (मेसिनरी) सामग्री नआएका कारण अन्य काम अघि बढाउन समस्या रहेको नेपाल उर्जा विकास कम्पनी प्रालिले बताएको छ । ती सामान आउनसाथ ग्याँस उत्पादनका लागि प्राविधिक काम शुरु हुनेछ । सहजरुपमा प्रविधिका सामान आएपनि आउदो कार्तिक महिनासम्म ग्याँस उत्पादन गर्न सकिने म्यानेजर श्रेष्ठले बताए ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले करीव रू. २० करोडको लगानीमा प्लान्ट निर्माणाधिन उक्त ग्याँस प्लान्टको २०७५ मंङ्सिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
प्लान्ट सञ्चालनमा आएपछि दैनिक ७० देखि ८० सिलिन्डर ग्याँस उत्पादन हुने छ भने २० टन कम्पोष्ट मल उत्पादन हुनेछ । जसका लागि नेपाल उर्जा विकास कम्पनीले २० वर्षका लागि सम्झौता गरेको छ । सभ्mौता अनुसार २० वर्षसम्म कम्पनीले आफै ग्याँस उत्पादन गरेर विक्री गर्ने छ भने कारोवारको ५ प्रतिशत घोराही उपमहानगरपालिकालाई रकम दिनुपर्ने छ । २० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । ग्याँस प्लान्टमा नेपाल उर्जा विकास कम्पनीको ६० प्रतिशत र ४० प्रतिशत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको लगानी छ ।











