काठमाडौं, १२ साउन। अमेरिकाको टेक्सस राज्यको हयुस्टनस्थित चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले आदेश गरेको केही दिन नबित्दै चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गरिएको छ । सोमबार बिहान औपचारिक रुपमा वाणिज्य दूतावास बन्द गरिएको हो ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार भवनमाथि फहराइरहेको अमेरिकी झण्डा हटाइएको छ भने वाणिज्यदूत बाहिर निस्किन लाग्दा दूतावास अगाडि जमा भएर दर्शकलाई पछाडि धकेल्दै प्रहरीले मार्ग प्रशस्त गरेका थिए ।
चीन सरकारले शुक्रबार छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई ७२ घण्टा समयसीमा निर्धारण गरेको थियो ।समयसीमा समाप्त भइरहँदा चिनियाँ विदेश मन्त्रालयले एक वक्तब्य जारी गरी बिहान दश बजेबाट दूतावास बन्द गरिएको जनाएको छ । अमेरिका र चीनबीच बिग्रदो सम्बन्धको असर दुबै देशभित्रका कुटनीतिक नियोगको कार्यालयमा कटौती गर्ने स्थितिसम्म पुगेको बताइएको छ ।










