काठमाडौंमा बिहीबार सम्झाँझै एक युवतीमाथि एसिड प्रहार भएको छ । होटेल हायातको क्यासिनोमा काम गर्ने ओलखढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि सोल्टी दोबाटोस्थित दिदीको कोठानजिकै एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

पवित्रा साँझ ६ बजेतिर दही किन्न दिदीको कोठाबाट निस्केकी थिइन् । सीतापाइलास्थित सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा पौने सात बजेतिर कोठानजिक उभिएको अपरिचित व्यक्तिले उनीमाथि एसिड छ्यापेको हो । एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन् । पवित्राको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।

बहिनीमाथि एसिड आक्रमण भएको थाहा पाएपछि दिदी सुनिताले छिमेकीलाई गुहारेर पवित्रालाई तत्काल मनमोहन मेमोरियल अस्पताल लिएर गइन् । मनमोहनले कीर्तिपुर अस्पताल रेफर गर्‍यो । त्यहाँ पुग्दा साढे ९ बजिसकेको थियो । ‘दही ल्याउन गएकी बहिनी चिच्याउँदै दौडेर फर्किइन् । एसिडबाट दायाँ साइड डढेको थियो । उसको अवस्था देखेर मसमेत चिच्याएँ, छिमेकीलाई गुहारेर अस्पताल पुर्‍याएँ,’ कीर्तिपुर अस्पतालमा सुनिताले भनिन् ।

सुनिताका अनुसार सेल्सबेरीबाट दही किनेर फर्किंदै गर्दा पवित्रालाई आधा बाटोसम्म चिनेकै एक व्यक्तिले मोटरसाइकलमा पु¥याइदिएको थियो । ‘त्यसपछि हिँडेर आउँदै गर्दा कोठानजिकै बाटोछेउमा उभिएको मान्छेले अचानक एसिड हान्यो,’ पवित्राको भनाइ उद्धृत गर्दै सुनिताले भनिन् । पवित्राले सुनिता र प्रहरीलाई बताएअनुसार एसिड हान्ने व्यक्तिलाई उनले यसअघि कहिल्यै देखेकी थिइनन् ।

पवित्राले एसिड प्रहार गर्ने व्यक्तिले मास्क लगाएको र आफूले नचिनेको जानकारी प्रहरीलाई दिएकी छिन् । आक्रमणकारी युवक सिसी क्यामेरामा देखिएको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका घर भएकी २२ वर्षीया पवित्रा बानेश्वरमा दाइ–भाउजूसँग बस्थिन् । लकडाउनमा दाइ–भाउजू गाउँ गएपछि कोठामा एक्लै भएकाले उनी एक महिनादेखि दिदीको कोठामा बस्दै आएकी थिइन् ।

बहिनीलाई अस्पताल ल्याए पनि सुनितासँग उपचारका लागि पैसा छैन । ‘१० हजार डिपोजिट गर्न भनेको छ,’ साना दुई सन्तानलाई छिमेकीको भरमा छाडेर बहिनीको उपचारमा रहेकी सुनिताले भनिन्, ‘मसँग जम्मा एक हजार रुपैयाँ छ । कसरी उपचार गर्ने हो ?’ उनलाई एकातिर बहिनीको चिन्ता छ भने अर्कोतिर नाबालक छोराछोरीको । ‘१३ वर्षकी छोरी छ । अपराधीहरूले उसलाई पनि यस्तै गर्छन् कि ?’ सुनिताको मनमा चिसो पसेको छ, ‘म पनि एक्लै छुँ । श्रीमान् बाहिर हुनुहुन्छ । हामीलाई पनि केही हुने हो कि ?’

छोरीमाथि एसिड आक्रमण भएको सुनेपछि गाउँमा रहेका आमा, बुबा र दाजु–भाउजू पनि चिन्तामा परेका छन् । ‘गाउँबाट बा, आमाले फोन गरिरहनुभएको छ । आमा त झन् बिरामी हुनुहुन्छ । अब कसरी सम्झाउने मैले ?’ सुनिताले भनिन् ।

एसिड आक्रमण गर्ने व्यक्ति अपरिचित भएकाले परिचित व्यक्तिले नै आक्रमण गर्न लगाएको हुन सक्ने आशंका सुनिताको छ । ‘एसिड हान्ने मान्छे नचिनेको थियो भनेपछि चिनेकै मान्छेले हान्न लगाएको हुनुपर्छ,’ उनले भनिन् । नयाँ पत्रीकाबाट