गुल्मी, ८ साउन । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखियो । साँझ स्याङ्जाको आकाश छिरेको सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख शहदेव हुमागाईंका अनुसार वर्षतको समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हो ।
त्यहाँ देखिएको सलहको झुण्ड ८ देखि १० लाखको संख्यामा रहेको छ । असार २८ गते नेपाल प्रवेश गरेको सहल केही समय नदेखिए पनि पुनः सक्रिय देखिएको छ । यसले गर्दा सलहको जोखिम नेपालमा कायमै रहेको केन्द्रले जनाएको छ ।
केन्द्रले शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि बढी रहेको बताएको छ । शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम कम हुने आँकलन गरिएको छ ।











