काठमाडौँ, ६ साउन । आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ । पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको मृत्यु भएको छ ।

badiनेपाल प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१, गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको छ । राति शौच गर्न खोल्सामा पसेका गुरुङमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएका गुरुङलाई स्थानीयवासी र प्रहरीको उद्धार टोलीले निकालेको हो । वडा–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जानकारी दिए । पीडित परिवारलाई स्थानीय स्तरबाट राहतको व्यवस्था गरिएको छ ।

त्यस्तै दार्चुला जिल्ला, नौघडा गाउँपालिका–६ स्थित एक बस्तीमाथि पहिरो खस्दा आमा मानमती ठगुन्ना र ६ वर्षीया छोरी आरती गरी दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । पहिरोबाट प्राथमिक विद्यालयसहित चार घरमा क्षति पुगेको छ । गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलमा सोमबार बिहान बाख्राको गोठमाथि पहिरो जाँदा ४० वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । पहिरोबाट बाख्रा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले बाढी र पहिरो प्रभावित जिल्लामा उद्धार, उपचार, पीडितको पुनस्र्थापना र राहत वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको जानकारी दिए । गत जेठ १ गतेदेखि साउन ४ गतेसम्म बाढी पहिरो र डुबानमा परी ११० जनाले ज्यान गुमाएका छन् भने ५० जना अझै बेपत्ता छन् । ५० जना घाइते र करिब दुई सय परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ ।

दर्जनौँ सडक अवरुद्ध
पहिरोका कारण काठमाडौँ–चितवन जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको चार किलो मिटरस्थित कालीखोलामा पहिरो गएको छ । चितवन–धादिङको सीमा मौवाखोलाको पुल नै बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । गजुरी फुर्केखोला, बेनीघाट रोराङ, बाँदरेभीर र जोगीमारा लगायतका स्थानमा पहिरो गएको छ ।

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डोजर र स्काभेटरसहित खटिएको छ । बुटवल–तानसेन पाल्पा जोड्ने सद्धार्थ राजमार्गको पहिरो हटाइएपछि सोमबार दिउँसोबाट यातायात सेवा सञ्चालनमा आएको छ । प्रहरीका अनुसार दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ पहिरो जाँदा पूर्णरूपमा अवरुद्ध भएको छ । गोरखापत्रबाट