तुलसीपुर, १ साउन । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहिन अर्थात क्यासलेस वनाईएको छ । उपमहानगरपालिकाका तिर्नुपर्ने पैसा सेवाग्राहीहरुले अनिवार्यरुपमा बैकमा जम्मा गर्नुपर्नेछ । आर्थिक सुशासनका साथै वैकिङ्ग प्रणालीप्रति अभ्यस्त वनाउनका लागि उपमहानगरपालिकामा बैकको काउन्टर स्थापित गरिएको हो ।
काउन्टर राख्न इच्छुक बैकबाट आवेदन लिएर मेगा बैकलाई काउन्टर स्थापनाका लागि स्वीकृति दिइएको उपमहानगरपालिकाका वित्तिय अधिकृत ललितवहादुर घर्तीले जानकारी दिए । गत वर्ष नै काउन्टर उद्घाटन गर्ने भनिए पनि राष्ट्र वैकसँगको प्रक्रियामा भएको ढिलाईका कारण यो वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको वैकको म्यानेजर राजन भण्डारीले जानकारी दिए ।
यसैविच उपमहानगरपालिकामा काउन्टरको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले क्यासलेस वनाउने लक्ष्य पुरा भएकोमा खुसी व्यक्त गरे । उनले अनौपचारिक कारोबारलाई रोक्नका लागि वैकिङ्ग प्रणालीको ठूलो महत्व हुने कुरामा समेत जोड दिएका थिए । हरेक नागरिकलाई बैकिङ्ग प्रणालीसँग जोड्न सकिए मात्रै औपचारिक कारोबार वृद्धि हुने उनको भनाई थियो ।
“वित्तिय साक्षरता अहिलेको आवश्यकता भएकाले पनि हामीले बैकिङ्ग प्रणालीमा जोड दिएका हौँ” पाण्डेले भने । आगामी वर्षबाट उपमहानगरपालिकाको हरेक पेमेन्ट अनलाइनबाट गर्ने गरी काम अगाडि वढाएको पनि उनको भनाई छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष विमल रिजालले वैकिङ्ग प्रणालीले आर्थिक पारदर्शिता ल्याउने वताए । उनले उपमहानगरपालिकाले क्रमवद्ध ढँगले घोषणाहरु पुरा गर्दै गएको समेत जानकारी दिए ।
धेरै मानिस बैकको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै तुलसीपुर वैकर्सका अध्यक्ष सरोज लामिछानेले यसले उनीहरुलाई बैकिङ्ग प्रणालीसँग जोडेर लैजाने बताए । बैकको म्यानेजर राजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।











