इन्द्रेणी संवाददाता
दाङ,२८ असार । दाङ प्रहरीले प्रहरी निरीक्षकलाई नै १ लाख ५० हजार घुस दिन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्दा मिलाई दिन भन्दै वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै भेटेर १ लाख ५० हजार घुस दिने खोज्ने उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैलाकुटी बस्ने २७ बर्षीय गोबिन्द शाह र प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं. ५ भिङ्ग्री घरभै हाल दाङको लमही नगरपालिका वडा नं. ५ लमही बजार बस्ने ३० वर्षीय समिर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
ती दुवै जनालाई आवश्यक कारवाहीको लागि आइतवार प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल पठाएको छ ।











