सिधुपाल्चोक, २८ असार । गएको बुधबार भोटेकोसी नदीमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । बाह्रबिसे नगरपालिका–५ जम्बुका १७ र भोटेकोसी गाउँपालिका–५ बुल्कुर्टेका चार जना बेपत्ता भएका थिए । तीमध्ये शुक्रबार साँझ सुनकोसी क्षेत्रमा भेटिएको शव बुल्कुर्टेका फुर्पा तामाङका ६ वर्षीय छोरा साहिलको भएको प्रहरीले जनाएको छ ।
शुक्रबार लार्चा खोलामा बेपत्ता भएका तीन जना भने शनिबार जीवितै भेटिएका छन् । भोटेकोसी–३ स्थित लार्चा खोलाले बेपत्ता बनाएका स्थानीय नाक्चे मगर घाइते अवस्थामा फेला परेका छन् । मगरको टाउको र शरीरमा चोट लागेको छ । मगरसहित तीन मजदुर शुक्रबार बिहान ८ बजेतिर लार्चा खोलामा बेपत्ता भएका थिए ।
‘मगरको २४ घण्टापछि सकुशल उद्धार भएको छ, उनीसँगै पहिरोमा पुरिएको आशंका गरिएका दुई जना पनि सुरक्षित पाइएका छन्,’ स्थानीय ध्रुव थापाले भने । बुधबार राति साढे १२ बजे भोटेकोसीमा आएको बाढीले जम्बु, खाग्दल, बुल्कुर्टेका ३६ घर बगाएको थियो । २१ जना बेपत्ता भएका थिए । घटनामा मृत्यु भएका दुई जनाको शव बिहीबार बिहान फेला परेको थियो कान्तिपुरमा खबर छ।











