काठमाण्डौ, २६ असार । कोरोनाका कारण बन्द गरिएका सार्वजनिक सवारीका साधन आज शुक्रवारदेखि सरकारले सञ्चालन गर्न दिने भएको छ । राजधानीको हकमा काठमाडौं, ललितपुर र भक्तपुर र वाहिरका जिल्लाहरुमा जिल्लाभित्र मात्रै चल्न दिने निर्णय गरेको हो ।
सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्ने नियम छ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । तर सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्यौलमा छन् ।











