काठमाडौं, २२ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न आज भएको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल सकिएको छ ।
दुबै अध्यक्षबीच वान टु वान वार्ता भएको र आजको वार्ता अन्तयन्त सकारात्मक भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा असमझदारी बढ्नुका कारणहरु खोज्ने प्रयास भएको छ ।
नेताहरुमा देखिएका अविश्वास, भ्रम र हल्लाहरुबारे एक अर्कामा प्रष्ट पार्ने काम भएको एक सचिवालय सदस्यले बताए । वार्तालाई निरन्तरता दिने र त्यसका लागि मंगलबार पुनः बस्ने कुरा भएको पनि उनले बताए ।
करिव २ घण्टा भएको वार्तामा अहिले दुई अध्यक्षबीच मात्रै छलफल गर्ने र आवश्यक परेमा पार्टीका वरिष्ठ नेताहरुलाई पनि राख्ने विषयमा कुराकानी गर्न सहमत भएका छन् । आइतवारको वार्तामा चर्का चर्की गरेका अध्यक्षद्धयले आजको वार्तालाई सहज र सरल बनाएका छन् ।











