काठमाण्डौ, १३ असार । असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । मनसुन सुरु भएसँगै राम्रोसँग पानी परेकाले रोपाइँ छिटो भएको हो ।

Ropai---3--16062017030922-1000x0उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भैसकेको कृषि मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । सरकारले यस वर्ष पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाउन लागेको छ ।

यसवर्ष “धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि” नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ललितपुरको खुमलटारमा आयोजना हुनेभएको छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । उज्ज्यालोबाट