केशरमान बुढाथोकी
दाङ,२ असार । पछिल्लो समय कोरोना भाइरसको संक्रमण अत्याधिक रुपमा बढ्न थालेपछि दाङमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको छ ।
दाङमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कोरोना संक्रमितहरुको रोग प्रतिरोधात्कम क्षमता बढाउन र कोरोना संक्रमितहरुको मनोवल उच्च पार्न राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुर दाङको आयोजनामा घोराही उपमहानगरपालिकाको अम्बापुर स्थित कोरोना विशेष आइसुलेसन वार्डमा औषधि वितरण गरेको हो ।
दाङका विभिन्न क्वारेन्टाइन र आइसुलेसन सेन्टरमा औषधि वितरण गर्दै आएको औषधालयले आइसोलेसनमा रहेका ६३ जना कोरोना संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने गुडुची चूर्ण , आमलकी चूर्ण , अश्वगन्धा चूर्ण आदि औषधी वितरण गरेको हो ।
औषधि वितरण कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बिरामी हरुको स्वास्थ्य अवस्था प्रति नगरपालिका जानकार रहेको भन्दै त्यसको व्यावस्थापनमा कुनै कसर बाँकी नराख्ने बताए । औषधि वितरण कार्यक्रममा कोरोना संक्रमितलाई सम्बोधन गर्दै प्रमुख चौधरीले कोरोना संक्रमितलाई आफ्नो अनुसासित बनेर स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार काम गर्न सुझाए ।
त्यस्तै कोरोनाको समयमा छिमेकी मुलुकबाट आएकालाई घोराही नगरले उचित व्यावस्थापन गरेको र कोरोना संक्रमितहरुको आवासका लागि उचित प्रबन्ध मिलाइएकाले निर्धक्क भएर बस्न र आयुर्वेदिक औषधि सेवन गर्न अनुरोध गर्दै औषधि वितरण गर्ने राप्ती आयुर्वेदिक चिकित्सालयलाई धन्यवाद दिएका थिए ।
त्यस्तै औषधि वितरण कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित बढ्न थालेको र यसको संक्रमण अझैं बढ्न सक्ने बताएकी थिइन । नेपाल जस्तो मुलुकले धेरै लामो समय लकडाउन थेक्न नसकेकाले यसको स्वरूप बदलिएको बताउदै जनजीविका सहज हुँदै जाँदा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने उनको भनाइ थियो ।

कोरोना संक्रमणको यो समयमा कोरोना संक्रमितहरु विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले समेत निर्देशन गरे अनुसार नियमको पालना गर्न अनावश्यक नाराजुलुसमा नगर्न अनुरोध गरेकी थिइन । त्यस्तै कोरोनाको समयमा उपचारको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र समाचार संकलनमा खटिएका पत्रकारहरुलाई समेत उच्च मनोवल गराएर काम गर्न प्रमुख पौडेलले आग्रह गरेकी थिइन ।
इन्सेकका दाङ जिल्ला सहजकर्ता विनोद केसीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा राप्ती आयुर्वेदिक चिकित्सालयका कार्यालय प्रमुख डाक्टर मदन बुढाथोकीले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पुर्याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण गर्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै डाक्टर मदन बुढाथोकीले आयुर्वेदिक औषधीले कोरोनाका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापन गर्नमा समेत भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै डाक्टर बुढाथोकीले भने “आयुर्वेदिक औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ त्यसैले आवश्यकता आधारमा आयुर्वेदिक औषधीले सेवन गर्नु अपरिहार्य हुन्छ ।
कार्यक्रमको सहजीकरण गर्दै चिकित्सालयकी कविराज आस्मा केसीले गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न आग्रह गरिन । कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपमेयर सिता सिक्देल न्यौपाने,इन्सेक दाङका प्रतिनिधि विनोद केसी लगायतको सहभागिता थियो ।











