इन्द्रेणी संवाददाता
दाङ, १३ जेठ । आज सहिद कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवस । हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाइने स्मृति दिवस लकडाउनका कारण सुनसान भएको छ । कोरोनाका कारण औपचारिक रुपमा स्कृति दिवस मनाउन नसकिएपछि नेपाल पत्रकार महासंघसहित विभिन्न संगठनहरुले विज्ञप्ति मार्फत स्मृति दिनको सम्झना गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सचिव भुपेन्द्र वली, प्रेस संगठनका संयोजक प्रकाश चौधरी, सहसंयोजक जेएन सागर र जनसंस्कृतिक महासंघ दाङका संयोजक टीका बुढा रञ्जितले सयुक्त रुपमा विज्ञप्ति निकालेर १८ औं इच्छुक स्मृति दिवसको सम्झना गरेका छन् ।
‘महान् सहिद पत्रकार कृष्णसेन इच्छुकको बलिदान भएको दिन जेठ १३ गते हामीले सहिद कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउँदै आएका छौं’, विज्ञप्तिमा भनिभएको छ, ‘कोरोना संकट र लकडाउनका कारण यो वर्ष १८ औं स्मृति दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न असमर्थ भएको यसै प्रेस विज्ञप्तिमार्फत् जानकारी गराउन चाहन्छौं । १८ औं इच्छुक स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक सम्मान र श्रद्धा व्यक्त गर्दछौं । पत्रकारिताको क्षेत्रमा उहाँले देखाएको बाटो कहिल्यै नबिर्सने र उहाँको योगदानलाई चिरस्थायी बनाउन अनवरत लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछांै ।’
पत्रकार कृष्ण सेन इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफतार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा क्रूरतापूर्वक यातना दिएर हत्या गरिएको थियो ।











