रोल्पा, १२ जेठ । रोल्पाको मौरीखोला–बासिन्धारा सडक निर्माणमा यस वर्ष काम गर्ने मजदूरको संख्या ह्वात्तै बढेको छ । अन्य क्षेत्रमा रोजगारी गर्नेहरु पनि अहिले लकडाउनका कारण बेरोजगार भएकाले अहिले यो सडकमा काम गर्नेको संख्या १५० पुगेको छ ।

rolpaस्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत १० लाख बजेट रहेको यो सडक गत ३ वर्षदेखि जनश्रमबाटै निर्माण भइरहेको थियो । तर, यस वर्ष कोरोना भाइरसको जोखिमका कारण भएको लकडाउनले वैदेशिक रोजगारीमा जान नपाएर घरमै बसिरहेका युवाहरुका लागि गतिलो रोजगारीको माध्यम बनेको छ ।

यसअघि वैदेशिक रोजगारीमा जाने रोल्पा नगरपालिका–१० धबाङका निमबहादुर ओली र रमेश थापा अहिले गाउँमै सडक निर्माणमा काम गरिरहेका छन् । ‘अहिले पनि विदेश जाने तयारीमै थिए’ निमबहादुरले भने ‘कोरोनाका कारण लकडाउन भएपछि अहिले गाउँमै बस्दा सडक निर्माणमा लागेको छु ।’

यस्तै, वैदेशिक रोजगारीका क्रममा कतारबाट छुट्टिमा आएका रमेश गत चैत ११ उडानको पर्खाइमा थिए तर देश लकडाउन भएपछि उनी अहिले गाउँकै सडक निर्माणमा मजदूरी गरिरहेका छन् । ‘सधैभरी यस्तै रोजगारी पाए किन विदेश जानु’ रमेशले भने ‘विदेशमा पनि दुःख नै गर्नुपर्छ गाउँघरमै बस्न पाए त राम्रो हुन्थ्यो ।’

गाउँमा बेरोजगार भएर बसेकाहरुको संख्या अत्याधिक भएपछि रोल्पा नगरपालिकाले अब गाउँमा निर्माण हुने जुनसुकै पूर्वाधार विकासको काममा स्थानीयलाई ‘राहतको सट्टा रोजगारी’ दिने योजना बनाएको छ ।

गाउँमा निर्माण हुने सडक, ढल, सिँचाई कुलो, पोखरी जस्ता पूर्वाधार विकासमा अब स्थानीयलाई नै रोजगारी दिने गरी निर्माण कार्य गर्ने नगर कार्यपालिकाले निर्णय गरेको रोल्पा नगरपालिका–१० का वडा सदस्य शेरबहादुर थापाले बताए ।

‘विभिन्न शीर्षक गरी नगरपालिकाले एक करोड ८ लाख बजेट छुट्याएकोमा १० नम्बर वडामा ८ लाख बजेट रहेको छ’ थापाले भने ‘उक्त बजेटबाट निर्माण हुने पूर्वाधार निर्माणमा पनि स्थानीयलाई नै रोजगारी दिने योजना बनाएका छौं’ ।

यस्तै नगरपालिकाले कृषि क्षेत्रमा लाग्नेहरुका लागि पनि विशेष सहुलियतको कार्यक्रम तय गरेको छ । रोजगारीका लागि जिल्ला तथा देश बाहिर जानेहरु पनि अहिले घरमै बेरोजगार बनेका छन् । यो कार्यक्रम दीर्घकालीन समाधान नभएकाले सरकारले दीर्घकालिन योजना बनाउनुपर्ने उनीहरुको माग छ । अभियानबाट