काठमाडौं, २२ बैशाख । जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।
नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध यादवले सोमबार बबरमहलस्थित सरकारी वकिल कार्यालयमा निवेदन दिएका हुन्। जनता समाजवादीका नेता केशव झाले सरकारी वकिल कार्यालयले सांसद यादवले दिएको निवेदन दर्ता गरेको बताए ।
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार जाहेरी दर्खास्त वा सुचना दर्ता गर्न प्रहरीले नमानेमा सरकारी वकिल कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था अन्तर्गत यादवले उजुरी दिएका हुन् ।
उजुरीमा नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेको भन्दै कारवाहीको माग गरिएको छ । यसअघि यादवले टेकुस्थित प्रहरी परिषरमा उजरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी लिन मानेको थिएन ।











