इन्द्रेणी संवाददाता
काठमाडौं, १४ बैशाख । नवगठिन जनता सामाजवादी पार्टीका नेताहरु पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दर्ता गराउन महानगरिय प्रहरी परिसर टेकुमा पुगेका थिए ।
तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेताहरुले उजुरी दर्ता गराउन त्यहाँ पुगेका हुन् । तर प्रहरीले उजुरी लिन नमानेपछि विकल्प खोज्ने भन्दै नेताहरु फर्किएका छन् ।
खनालसहित बस्नेत र श्रेष्ठले सांसद यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं लिएको आरोप लागेको छ । गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं लगेका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।
अपहरणमा परेका भनिएका यादव पनि सँगै महानगरिय प्रहरी परिसर टेकुमा पुगेका थिए । उजुरी दिन नेताहरु डा बाबुराम भट्टराइ , राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत पनि पुगेका थिए ।











