इन्द्रेणी संवाददाता
चीनको एक बायोटेक कम्पनीले बनाएको खोपले बाँदरलाई कोरोना भाइरसबाट बचाएको छ । त्यस कम्पनीले बनाएको कोरोना विरुद्धको खोप बाँदरमा परीक्षण गर्दा सफल भएको जनाइएको छ ।
बेइजिंगस्थित सिनोभ्याक बायोटेक कम्पनीले बाँदरमा गरिएको परीक्षण सफल भएको जनाएको हो । सिनोभ्याकका अनुसन्धानकर्ताहरुले दुई भिन्न किसिमका खोपहरु ८ वटा बाँदरमा प्रयोग गरेका थिए । त्यसको तीन हप्तापछि ती बाँदरहरुको फोक्सोमा कोरोना भाइरस ९कोभिड–१९० राखिएको थियो ।
बाँदरहरुलाई भाइरसबाट संक्रमण गराइएको ७ दिनपछि तिनीहरुलाई फेरी संक्रमणको अवस्थाका बारेमा जाँच गरिएको थियो । तर, उनीहरुमा भाइरसको संक्रमण नदेखिएको बताइएको छ ।अनुसन्धानकर्ताहरुले बनाएका २ खोप मध्ये एउटा बढी डोजको थियो भने अर्को कम डोजको थियो ।
बढी डोजको खोप लगाइएका बाँदरहरुमा भाइरसको कत्ति पनि संक्रमण एवं असर देखिएन अर्थात भाइरस निष्कृय भइसकेको थियो । कम डोज दिइएका ४ बाँदरमा भने केहि समस्या र संक्रमण फेला परेको थियो । तर, डोज बढाएपछि ती बाँदर पनि पूर्ण रुपमा भाइरसमुक्त भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
दुबै किसिमबाट बाँदरहरुमा भाइरस नियन्त्रण ल्याउन सफल भएसंगै १६ अप्रिलमै कम्पनी र अनुसन्धानकर्ताहरुले मानिसमा पनि खोप परीक्षण सुरु गरिसकेका छन् । र परीक्षणका नतिजा भने आई सकेको छैन, आउने क्रममा छ ।
सिनोभ्याकका वरिष्ठ निर्देशक मेंग वेनिंगले मानिसमा पनि यो खोप पूर्ण रुपमा सफल हुने आफुहरु विश्वस्त रहेको बताएका छन् । प्रकाशित अध्ययनका लेखक एवं अनुसन्धानकर्ता फ्लोरियन क्रेमरले ‘खोपले काम गर्ने र निकै कम आर्थिक स्थिति भएका देशहरुले समेत यो खोप बनाउन सक्ने’ बताएका छन् ।
तर, अमेरिकी पिट्सवर्ग विश्वविद्यालयका प्रोफेसर डगलस रीडले भने, सिनोभ्याकले निकै थोरै बाँदरमा मात्र यसको परीक्षण गरेको भन्दै परीक्षणको प्रकृयामाथि समेत आशंका व्यक्त गरेका छन् । यद्यपी यो खोप इटाली, चीन, बेलायत र स्पेनका संक्रमितमा पनि परीक्षण गरिएको छ । अहिलेसम्म यि परीक्षणहरुको कुनै नतिजा निस्केको छैन् ।
यस्तै ६ अन्य खोपहरु मानिसमा परीक्षण भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । करिब ७७ खोपहरु अझैं विकासका क्रममा छन् । सिनोभ्याकले बनाएको खोप कोरोना भाइरसलाई संक्रमण निष्कृय पारेर बनाइएको हो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि बिहीबारबाट मानिसमा खोप परिक्षण सुरु गरिसकेको छ । नयाँ पत्रिकाबाट











