केशरमान बुढाथोकी

दाङ । कोरोना भाइरसको परीक्षण गर्न जिल्ला स्वास्थ्य कार्यालय दाङले आफ्नो सक्रियता ह्वात्तै बढाएको छ । विश्वलाई कोरोना भाइरसले आक्रान्त बनाएका बेला जिल्लालाई कोरोना भाइरसमुक्त बनाउनका लागि देश बाहिरबाट आएका र कोरोना भाइरसको संक्रमण भएका ब्यक्तिसँग सम्पर्क भएकालाई कोरोना भाइरस परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो । घुम्ती परीक्षणमार्फत जिल्ला स्वास्थ्य कार्यालय दाङले गरेको परीक्षणमा जिल्लामा २७ जनाको कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

जिल्लाका घोराही उपमहानगरपालिकाका ११ जना, तुलसीपुर उपमहानगरपालिकाका १० जना, शान्तिनगर गाउँपालिकाका ६ जना शंकास्पद ब्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको प्रमुख  पौडेलको भनाई छ ।

जिल्लामा कोरोना भाइरस नेगेटिभ देखिनु सुखद खबर भएपनि कुनै दिन बाहिरबाट आएका ब्यक्तिहरुका कारण महामारीले उग्र रुप लिनसक्ने प्रमुख पौडेलले बताउनुभयो । कोरोना भाइरसको सम्भावित खतराबाट बच्नका लागि सरकारले तोकेको लकडाउन अनुशासित भएर पालना गर्न पनि प्रमुख पौडेलले आम दङ्गालीलाई आग्रह गर्नुभयो ।