पाल्पा, ५ बैशाख । स्याङ्जाको कालीगण्डकी जलबिद्युत आयोजनाको बेलटारीमा काम गर्ने दाङका ३५ जना मजदूरहरु पैदलै घर हिँडेका छन् । दंगीसरण गाउँपालिका वडा नम्बर ७ का मजदूरहरु बिहीबार बिहानै बेलटारीबाट हिँडेर शुक्रबार बिहान पाल्पाको बगनासकाली आइपुगेका थिए ।

aaबगनासकालीको यम्घा, खानीगाउँको रानीघाट दरबार हुँदै अर्गलीको बाटो लागेका उनीहरु अर्घाखाँचीबाट पाँच दिनमा दाङ पुग्ने मजदूरका नाइके सन्त बहादुर बुढाथोकीले जानकारी दिए ।

बेलटारीमा रहँदा खान बस्नसमेत समस्या भएपछि बाध्य भएर घर हिँडेको नाइके बुढाथोकीको भनाइ छ । घर फर्किन गाउँपालिका, वडाध्यक्ष र जिल्लामा टेलिफोनबाट समस्या राखे पनि कसैले वास्ता नगरेपछि बाध्य भएर पैदलै घर हिँडेको समूहका अर्का मजदूर विशाल बुढाले बताए । ३५ मजदूरमध्ये केही वृद्धवृद्धा र केही बालबालिका समेत छन् ।

दिनरात पैदल हिँड्दा दर्जनौं ठाउँका गाउँलेहरुले रोके पनि समस्या बताएपछि छोडेको र धेरै ठाउँमा कुकुरले लखेटेको बुढाले दुखेसो पोखे। बाटोमा खान दुई चार किलो चिउरा र चाउचाउ मात्रै रहेको उनीहरुले दुखेसो पोखे ।

उज्यालो नेटवर्कबाट