सल्यान, २० चैत । सल्यानमा विपन्न घरपरिवारलाई राहत वितरणको काम शुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित विपन्न वर्गका घर परिवारलाई राहत प्रदान गर्ने कार्य शुरु भएको हो ।
आज कपुरकोट गाउँपालिकाका २ का १६ विपन्न घर परिवारलाई चामल, नुन, तेल लगायतका सामग्री वितरण गरिएको अध्यक्ष भिमबहादुर सेनले जानकारी दिएका छन् ।
दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई राहत वितरण कार्य शुरु भएको उनले बताए ।
कपुरकोट २ गर्पा स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतिपरिवार २५ किलो चामल, एक एक किलो दाल, नुन, एक लिटर तेल र एक पिस साबुन वितरण गरिएको हो । गत चैत १६ गते नै बैठक बसेर सम्बन्धित वडा कार्यालयमार्फत विपन्न वर्गको पहिचान गरेर विवरण संकलनको काम शुरु गरिएको थियो ।
सोही अनुसार वडा नम्बर २ का १६ घर परिवारलाई राहत उपलब्ध गराइएको अध्यक्ष सेनले बताए । त्यस्तै वडा नम्बर ३ र ४ मा शुक्रबार राहात वितरण गरिने उनले जानकारी दिएका छन् । गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा १० लाख ८२ हजार रुपैयाँ रहेको र यसबाटै राहत वितरण तथा कोरोना रोकथामका क्रियाकलापहरु संचालन गरिने हो ।











