दाङ, १८ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि विशेष कोष वनाएको छ ।
कोरोना संक्रमणको प्रकोपलाई लक्षित गरेर व्यवस्थापनका विभिन्न काम गर्नका यस्तो कोष वनाइएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । नगर प्रमुख पाण्डेले क्वारेन्टाइन व्यवस्थापन, औषधि उपचार, विपन्नलाई खाद्यान्न लगायतका विभिन्न कामका लागि यस्तो कोष वनाइएको जानकारी दिए ।
“तुलसीपुरमा कोरोना लक्षित कार्यक्रम एकद्धार प्रणालीबाट सञ्चालन र राहत वितरण गर्नका लागि यस्तो कोष वनाईएको हो ” तुलसीपुरमा रहेको नेपाल इन्भेष्टमेन्ट वैकमा उपमहानगरपालिकाले ५० लाख रुपैया राखेर कोष स्थापना गरेको हो । कोषमा सहयोग गर्न चाहने जो कोहीले पनि इन्भेष्टमेन्ट वैकमा रहेको मेयर विपद् व्यवस्थापनको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न सक्ने पनि उनले जानकारी दिए ।
यसैविच उपमहानगरपालिकाले विपन्नको पहिचान गरेर २५ किलो चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो सोयाविन उपलब्ध गराउने भएको छ । तुलसीपुर फुड वैक स्थापना गरेर यस्तो कामलाई निरन्तरता दिइनेछ । लकडाउनका कारण खान नपाएका अति विपन्न परिवारलाई वडाध्यक्षको सिफारिसमा यस्तो राहत वितरण गरिने भएको हो ।
“ विपन्नको पहिचान, छनोट र राहत वितरण सबै वडाले नै गर्ने छ ” नगर प्रमुख पाण्डेले जानकारी दिए । यसका साथै उपमहानगरपाालिकाले विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर औषधि छर्कने भएको छ । औषधि छर्कनका लागि पनि वडाध्यक्षकै सिफारिसमा काम अगाडि वढाइने भएको हो । उपमहानगरपालिकाले भारत लगायत विभिन्न देशबाट आएकाहरुको खोजिलाई निरन्तरता दिने भएको छ । अहिलेसम्म २ सय ८१ जनाको खोजि भइसकेको छ ।











