बाग्लुङ, २५ असार
नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले आफ्नो पार्टी बहुमतीय सरकारको पक्षमा नरहेको बताउनु भएको छ ।नेकपा माओवादी केन्द्रले शनिबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै बादलले संविधानको कार्यान्वयन, पुनर्निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा र्पुयाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनु भयो ।
उहाँले राष्ट्रिय सहमति नबन्ने अवस्थामा आफ्नो पार्टी सरकारमा रहिरहनुको औचित्य नहुने र त्यस्तो अवस्थामा सडकमा समेत जान सक्ने बताउनु भयो ।एमालेसँग भएको नौ बुँदे भद्र सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै सहमतिको सरकार बन्ने अवस्था नआए आफ्ना एजेण्डा आन्दोलनद्वारा सम्बोधन गराउन पनि पछि नपर्ने बताउनु भयो ।
नेता बादलले माओवादीको नेतृत्वमै सहमतिको सरकार बनाउने अडानमा आफूहरु नरहेको भन्दै जसको नेतृत्वमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्ने बताउनु भयो । कांग्रेस सहितको सहभागितामा बन्ने सहमतिको संयुक्त सरकारले आन्दोलनरत दलका माग सम्बोधन, संविधान संशोधन, संविधानको कार्यान्वयन, पुनर्निर्माण जस्ता कार्यलाई अघि बढाउने उल्लेख गर्नुभयो ।।