उदय बीसी
दाङ, २५ असार ।
घोराहीको बजार क्षेत्रमा सवारी साधन पार्किङ व्यवस्थीत गरिदैछ । जिल्ला ट्राफिक कार्यालय दाङले बजारमा सवारी साधन मनपरी रुपमा पार्किङ गर्ने क्रम वढेपछि पार्किङका लागि निश्चित क्षेत्र तोकेर पार्किङ लाइन बनाएको छ । घोराही नगरपालिकाको सहयोगमा शनिवार घोराहीको न्यूरोडमा पार्किङ लाइन बनाइएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख अरुणकुमार सिंहले बताउनुभयो ।
सो क्षेत्रमा सवारी पार्किङमा अत्यधिक मनोमानि भएकाले अव्यवस्थीत पार्किंङलाई रोक्न लाइन तयार पारिएको हो । सडकको दाँया÷बाँया करीव दुई÷दुई मिटर छोडेर लाइन बनाइएको छ । अब सो रेखाभन्दा भित्र मात्रै सवारीसाधन पार्किङ गर्न पाइने छ । त्यो लाइनभन्दा वाहिर पार्किङ गरिएका सवारीसाधनलाई ट्राफिक नियमअनुसार कारवाही गरिने ट्राफिक प्रमुख सिंहले बताउनुभयो । अटेर गरी लाइनभन्दा वाहिर पार्किङ गर्ने सवारीलाई एक हजार पाँच सय रुपैयाँसम्म जरीवाना हुने सिंहले बताउनुभयो ।
ट्राफिक प्रहरीले सरकारी गाडीमा पनि निगरानी गर्ने
अब ट्राफिक प्रहरीले सरकारी नम्बर प्लेटका सवारी साधनमा पनि निगरानि गर्ने भएको छ । सार्वजनिक विदाका दिन पनि सरकारी कार्यालयका सवारी साधन दुरुपयोग भइरहेको भन्दै शनिवार र अन्य सार्वजनिक विदाका दिनमा सञ्चालनमा आएका सरकारी नम्बर प्लेटका गाडी तथा मोटरसाइकलहरुमा निगरानि तथा चेकाजाँच गरिने जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख अरुणकुमार सिंहले बताउनुभयो ।
‘शनिवार र अन्य विदाका दिन सञ्चालनमा आएका सरकारी नम्बर प्लेटका सवारी साधनमा पनि हाम्रो चेकजाँच हुन्छ, यो माथिको आदेश हो’– उहाँले भन्नुभयो । यो नियम शनिवारदेखि नै लागु भएकाले आफ्नो मातहतका सबै अंगलाई निर्देशन भइसकेको उहाँले बताउनुभयो । तर, सुरक्षाकर्मीका गाडी र विद्युत, नेपाल टेलिकमलगायतका अतिआवश्कीय कार्यालयका सवारी साधन विदाका दिन चल्न पाउने छन् ।
यी वाहेक अन्य सरकारी कार्यालयका गाडी तथा मोटरसाइकलहरु विदाका दिन चलाउनका लागि सम्बन्धीत कार्यालयका कर्मचारीले पनि सम्बन्धीत जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम खुलाएको लिखितपत्र साथमा रोखे मात्रै गुड्न पाउनेछ ।।
